"बहर बहार-शृङ्खला ४"

"बहर बहार-४"
***********
सुनायौ तिमीले घडीको कहानी
म भन्ने छु आफ्नो नदीको कहानी
-अनन्त अनुराग

कसोरी सुनाऊँ ? क-कस्लाई सुनाऊँ ?
नफूल्दै झरेको कलीको कहानी
-लाल काजी श्रेष्ठ

हराए नि आशा यहाँ बाँच्नु पर्दा
म सम्झिन्छु फेरि परीको कहानी
-मिलन मार्मिक

सबै सार लेख्छन् कथा जिन्दगीको
म चाहन्छु लेख्न मसीको कहानी
-'अविनाश' सापकोटा

पुग्यौ के महलमा चटक्कै भुलेछौ
तिमी हुर्किएको कुटीको कहानी।
-राम कँडेल अधीश

कतै राम लक्ष्मण कतै कृष्ण बलराम
सुनेंको छु मानक सदीको कहानी
-दिनेश धामी

सबै लोकले नाम् उनैको पुकार्छ ,
सुँनौ के छ त्यस्तो हरीको कहानी
- राजीव जि.सी 'संघर्षी

म तिम्रो नयनमा लुकी बस्छु भन्थें
भयो जिन्दगी बन्धकीको कहानी
-युवराज खतिवडा

दिलै यो दिदानी गर्यो घात यस्तो
सुनाऊ कसोरी सखीको कहानी
-रीना बोम्जन

म के भुल्न सक्थेँ छ त्यो याद ताजा
लुकामारी खेल्ने समीको कहानी
-लामा अभय

म बिर्सिन्छु प्रिया तिमी साथ हूँदा
गगनका सितारा रतीको कहानी
-विजय योजीत

सुनाउ न धेरै बुझेको छु थोरै
भयो औधि सुनौं नबीको कहानी
-रमेश 'गोठालो

बडो चाख लाग्थ्यो म सुन्थें र झुल्थें
मुमा भन्नु हुन्थ्यो परीको कहानी
-गजेन्द्र 'अतीत' बोहरा

न सोधे कसैले न मैले सुनाएँ
अनौठो छ भीषण मसीको कहानी
-भीषण माईला

खबर छैन नौलो सधैं के सुनाऊँ
उही फैसला मुल्तबीको कहानी
-प्रमोद थापा
*******
बहर:- मुतकारिब मुसम्मन सालिम
रुक्न:- १२२-१२२-१२२-१२२
नोट:- माथिको सामुहिक गजल १ साउन २०७२ (१७ जुलाई
२०१५) मा "बहर-बहार" फेसबुक ग्रूपमा गरिएको सामुहिक
अभ्यास बाट साभार गरिएको हो।
-बहर बहार परिवार

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....