Posts

Showing posts from January, 2017

कविता :चुनौती ,कवि :राजु स्याङ्तान।

Image
"चुनौती " = रानीदहमा तैरिरहेको रेन्जेन दोर्जेको टाउको बोकेर २ सय ५४ वर्षपछि आज म याम्बुको सडकमा उभिएको छु ए पृथ्वीनारायण ! आज कहाँ लुकेर दिँदैछौ उपदेश ? आऊ सडकमा आऊ अन्तिम छिनोफानो गरौं = म मासिन्या मतवाली गौ हत्याको आरोपमा बेकसुर टुँडिखेलमा काटिएको मेरो बाजेको टाउको बोकेर तिम्रो शालिकअघि ठिङ्ग उभिएको छु ए जंगबहादुर ! मलाई स्वीकार्य छैन तिम्रो मुलुकी ऐन आऊ मैदानमा आऊ अअन्तिम फैसला गरौं = भिमफेदीको उकालोमा गाडी बोक्दाबोक्दै रगत छादेर मरेको मेरो पुर्खाको खप्पर बोकेर तिम्रो चिहानअगाडि उभिएको छु ए जुद्धशमशेर ! कहाँ लुकेर दिँदैछौ आदेश ? म तिम्रो दरबार बनाउने ज्यामी मात्रै होइन तिम्रो चिताको दाउरा बोक्ने मलामी पनि हुँ आऊ अब मैदानमा आऊ अन्तिम युद्ध लडौं = मैले त केवल पुर्खाको रगतले भिजेको माटोमा मेरो नाम लेखौं भनेको तिम्रो आगनमा तुलसीको मठ हुँदा मेरो आगनमा दज्र्यू गाडौं भनेको तर तिमीले सुनेनौं = अब आऊ मैदानमा आऊ पुर्खाको अस्थिपञ्जर काँधमा बोकेर डिङग उभिएको छु म तिम्रो अगाडि कवि :राजु स्याङ्तान