"बहर बहार-शृङ्खला १"

"बहर बहार-१"
सधैं रातमा चाँदनी हेर्न खोजें
अँध्यारो म आफैं बनी हेर्न खोजें
-विजय योजित

सतायो दशाले सधैं नै म माथि
दशाको प्रभू त्यो शनि हेर्न खोजें
-रमेश गोठालो

लुकाएर माया कहाँ हुन्छ भन्दै
रमाएर बेल्चा खनी हेर्न खोजे
-जीपीएस शरद

नहेरी नदेखी यसै के अलापुँ
टुना जादु र मोहनी हेर्न खोजें
-लाल काजी श्रेष्ठ

छुटेको भएनि मुटुमा अझै छन
छ कि प्यार उस्तै भनी हेर्न खोजें
-कवि अभ्यर्थी

हिजो गाडिएको चिनो निष्ठुरीको
मुटु भित्र खाल्डो खनी हेर्न खोजें
-मिलन मार्मिक

थियो चाह कस्तो ऊनी संग मेरो
जुधाई नयन सनसनी हेर्न खोजें
-युवराज खतिवडा

नदेखिन्छ चन्द्र खुशीमग्न जस्तो
तिमी युक्त तारा गनि हेर्न खोजें
-विनोद परिवर्तित

पर्यो रात कालो सधैं यो मुटुमा
तिमी भित्रको रोशनी हेर्न खोजें
-अविनास सापकोटा

म यो जिन्दगीमा अझै हार्छु कारण
सधै अन्त्यमा थालनी हेर्न खोजें
-अभय लामा
******
बहर:- मुतकारिब मुसम्मन सालिम
रुक्न:- १२२-१२२-१२२-१२२
नोट:- माथिको सामुहिक गजल ३० आषाढ २०७२ तद
अनुसार १५ जुलाई २०१५ मा "बहर-बहार" फेसबुक ग्रूपमा
गरिएको पहिलो सामुहिक अभ्यास बाट साभार गरिएको
हो।
-बहर बहार परिवार

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....