आजबाट यहाँ फूलहरू हास्नेछैनन् काटिदिएपछि वरपीपल बेघर भए चराहरू पुरिदिएपछि कुवा काकाकुल भए टारीहरू निमोठिदिएपछि फूल मुस्कुराउनै छाडे नानीहरू गतिशीलताको नाममा निमिट्यान्न पारेर बाका सारा निशानी निस्किएँ म मरूभूमिको यात्रामा मरूभूमिमै सकियो मेरो रूप यौवन उन्माद र सँगसँगै सिद्धियो मभित्रको मपाईंत्व
प्रज्ञा प्रतिष्ठानले २०७२ सालमा आयाेजना गरेकाे कविता प्रतियोगितामा
निर्णायक मण्डलकाे निर्णय अनुसार ३१ अऔं भएकाे कविता ।
कविता फर्किएर गाउँमा
बाले घरजम गरेको साल
सार्नुभएथ्यो वरपीपल
जसले बटुवालाई शीतलतामात्रै होइन
चराहरूलाई सुरक्षित बास पनि दिएथ्यो
अंशवण्डापछि
त्यही वरपीपलको फेदमा उभिएर
मैले उर्दी जारीगरेँ–
आजबाट यहाँ कोही नबस्नू !
आमा गर्भवती भएको साल
बाले खन्नुभएथ्यो कुवा
जसले बस्तीहरूको प्यासमात्रै मेटाएन
उजाड टारीहरूमा लहलह धान झुलायो
नामसारीसँगै
त्यही कुवाको डिलमा उभिएर मैले हुङ्कार गरेँ–
आजबाट कसैले यहाँको पानी पिउनेछैन !
म जन्मेकै साल बाले
आँगनको डिलभरि रोप्नुभएथ्यो फूल
जसमा रमाउँदै पुतलीहरूमात्रै नाचेनन्
फूलझैँ मुस्कुराउन सिके मजस्तै नानीहरू
स्वामित्वपछि
मैले चेतावनी दिएँ–
आजबाट यहाँ फूलहरू हास्नेछैनन्
काटिदिएपछि वरपीपल
बेघर भए चराहरू
पुरिदिएपछि कुवा
काकाकुल भए टारीहरू
निमोठिदिएपछि फूल
मुस्कुराउनै छाडे नानीहरू
गतिशीलताको नाममा
निमिट्यान्न पारेर बाका सारा निशानी
निस्किएँ म मरूभूमिको यात्रामा
मरूभूमिमै सकियो
मेरो रूप
यौवन
उन्माद
र सँगसँगै सिद्धियो मभित्रको मपाईंत्व
वर्षौंपछि आज गाउँ फर्किएर
सारिरहेछु वरपीपल
खनिरहेछु कुवा
र, रोपिरहेछु फूलहरू
अब
फर्कनेछन् चराहरू
हराभरा हुनेछन् टारीहरू
मुस्कुराउनेछन् नानीहरू
बल्ल म यो गाउँबासी भएको छु ।
कवि :-पुरू लम्साल
Comments
Post a Comment