आज बिहानै पत्रिकाले समाचार छापेछ 'पल्ट्यो एउटा यात्रुबाहक बस, सकियो अपुर्ण, बुढो जिन्दगी'

कविता - अपुर्ण जिन्दगी

वर्षौदेखि
बिरामी जिन्दगीको लय बोकेर
गुडिरहेछ, यात्रुवाहक बसजस्तो
एउटा बुढो जिन्दगी ।
पहाडकाे कच्चि बाटो
धुवाँ-धुलोको एक मुश्लो आकाश
उराठिलो साइरन
पाङ्ग्राको एकोहोरो खटखट...
खेर नजाने शंका
कतै, बिग्रयो कि पाटपुर्जा? शरिरको
कतै, पञ्चट भयो कि एउटा पाङ्ग्रो? उमेरको
अचेल
हावाले पनि जिस्काउछ, र उडाउछु भन्छ,
पानीले पनि अत्याउँछ, र बगाउछु भन्छ,
लछप्पै छोपिदिन्छ बाइरोडको धुलोले
लाग्छ, धुलो बाहेक केहि छैन धर्तिमा ।
कुनै बिकट बस्तिमा पहिलो पटक पुग्दा
केटाकेटि पछि लागेझैँ, पछि लाग्छन्
चाउचाउ, बिस्कुटका थोत्रा खोलहरु
जसलाई, फ्याँकेको हो
भर्खर बन्दै गरेको अनाम बजारले ।।
लाग्छ अब त,
कति बाच्नु? ग्यारेजले दिएको बोनस समय
बरु,
पल्टौँ, अभावको अक्करे भिरबाट
जुधौँ, कुनै शामन्ती मालबाहक ट्रकसँग वा
जलुँ, छर्केर पिडाको पेट्रोल
र, मेटाउँ आफ्नो व्यर्थ नाम निशाना
आज बिहानै पत्रिकाले समाचार छापेछ
'पल्ट्यो एउटा यात्रुबाहक बस,
सकियो अपुर्ण, बुढो जिन्दगी'
हार्दिक श्रदाञ्जली !!
---0---
:- कमल संघर्ष 
       अछाम

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....