घुम्दै गरेको जाँतोसँग म प्रश्न गर्छु– भोलि केमा पिस्छन् होला छोराछोरीहरूले चाउचाउ खाने आफ्नो जिन्दगी ?_कविता -सरस्वती दुमी राई

कविता महोत्सव २०७२ मा दोस्रो भएको कवि सरस्वती

दुमी राई (रवि, पाँचथर) 


“आमा, जाँतो र मेरो जिन्दगी”

मेरो भाग्यमा केके छ
भन्न सक्दिनँ
तर, मेरो कर्मको जाँतोमा
जिन्दगी पिसिरहेकी छु
च्याँख्ला, पिठो र मल्खुहरूमा
जिन्दगीलाई टुक्राटुक्रा पारिरहेकी छु ।

पिसिनुअघि झरीमा भिजेँ
बिस्कुनमा सुकेँ
भुइँमा छरिएँ
जति रहेँ, आफ्नै जिन्दगी सम्झिएँ
आमा पनि
जिन्दगीलाई घान हालेर पिसिरहनुहुन्थ्यो
दाउरा–घाँस गरेर फर्किएकी
आमालाई देखेर भन्थेँ– ‘भोक लाग्यो आमा’
आमाको ममता बोल्थ्यो–
भर्खर पिस्दै छु जिन्दगीलाई जाँतोमा
पर्ख छोरी, रोटी खालिस् !

वर्तमान म स्वयम् आमा
स्कुलबाट घर फर्किएका छोराछोरी
सिकुवामा थचक्क बसेर भन्छन्–
‘आमा ! भोक लाग्यो !’
म भन्छु– ‘पर्ख नानी हो
जिन्दगी पिस्दै छु जाँतोमा
रोटी खालाऊ’
छोराछोरी भन्छन्–
‘नाइँ आमा चाउचाउ खान्छु !’

घुम्दै गरेको जाँतोसँग म प्रश्न गर्छु–
भोलि केमा पिस्छन् होला छोराछोरीहरूले
चाउचाउ खाने आफ्नो जिन्दगी ?
००

_सरस्वती दुमी राई


Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....