कविता "यन्त्रमानव "-एलिसा पौडेल

" यन्त्रमानव "

मसँग 
मन छैन
हो 
मसँग मन छदैँ छैन
मेरो मन त उहिले डढिसक्यो
मतलब मरिसक्यो
जब,
तिमीले छर्कियौ
याद नाउँको अम्ल
मेरो अतितको घाऊमा..

मसँग मुटु छैन
हो
मसँग मुटु छदैँ छैन
मेरो मुटु त
उहिल्यै बनेको हो स्वचालित मेसिन
त्यहि दिनदेखी 
म बनेकी हुँ
मुटु नभएकी
एउटी सुन्दर पुतली 

मसँग मस्तिष्क छैन
हो 
मसँग मस्तिष्क छदैँ छैन
मैले आफैँ
परित्याग गरेकी हुँ मेरो मस्तिष्क 
जब त्यसले, 
बारम्बार दोहोर्याइरह्यो
म मानव भएको कटु यथार्थ 
यो मानवताहिन समाजमा
बाँच्नका लागि
मैले बन्द गरेकी हुँ
मेरा सोचका द्वारहरु

मसँग आँखा छैनन् 
हो, 
मसँग आँखा छदैँ छैनन् 
मेरो आँखामा त
वर्षौँ पहिले बाँधिएको हो
अहङ्कारको कालो पट्टि
त्यो दिनदेखी 
म देख्दिनँ दुनियाँको दुख
फुट्दैनन् आँसुका मुलहरु
सुख्खा छ सुख्खा 
मरुभूमिजस्तै आँखा

मन नभएकी मलाई
मुटु नभएकी मलाई
मस्तिष्क नभएकी मलाई
आँखा नभएकी मलाई
कसरी भन्छौ मानव/ मान्छे
खाँदैमा 
हिँड्दैन
कोही मानव हुँदैन 
हैन, म मानव हैन
म हुँ 
एउटा स्वचालित यन्त्रमानव 
मुटु बिनाको
मन बिनाको
मस्तिष्क बिनाको

कवि :- एलिसा पौडेल 'नुवाकोट '
२०७२/०९/१५ बुधबार 


Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....