मुक्तक-नवीन संघर्ष


मुक्तकहरु-कक्रमश :-
१.
हिमाल पहाड छुट्टाछुट्टै तराई ठान्नु हुन्न।
एकदिन सत्यले जित्छ डराई ठान्नु हुन्न।
एकाअर्कामा हातेमालो छिमेकी हुनुपर्छ ,
को आफ्नो को बिरानो पराई ठान्नु हुन्न।

२.
वीर सहिदहरूको सालिक ढालेर तिमी ।
मनभित्र आडम्बरको हिंसा पालेर तिमी।
कसरी खोजिरहेको छौ कस्तो परिवर्तन ,
पटकपटक सडकमा टायर बालेर तिमी।

३.
हुनुपर्छ अनिवार्य बिधान बिधिमा युवा।
परिवर्तनको खातिर राजनीतिमा युवा ।
देशको सुन्दर भबिस्य तिम्रो काधमा छ,
हुनुपर्छ आपत बिपत्त र समृद्धिमा युवा।

४.
एकएक थोपा रगत देशमै खर्च्यौ भने।
जति सक्छौ बचत देशमै खर्च्यौ भने।
अरु देशझै विकसित हुन सक्छौ हामी,
प्रवासी हात मेहनत देशमै खर्च्यौ भने।

५.
हत्या हिंसा सारा दमनको अन्त्य गरौ।
रुढीबादी संस्कार प्रचलनको अन्त्य गरौ।
खबरदारी हामी गर्छौ गराउछौ सारा,
महिला चेलीबेटी बेचबिखनको अन्त्य गरौ।

६.
दौरा-सुरुवाल ढाकाटोपी कोट हराउनु हुन्न।
रोपौ शान्तिको बिरुवाहरू बोट हराउनु हुन्न।
नेपालै नरहे कसरी हामी सबै नेपाली रहन्छौ ?
देश बचाउन लाई बाचौ अठोट हराउनु हुन्न।

७.
मातृभूमि नै आम्दानीको आधार बनाएर।
मेहनती पौरखी हातहरु हतियार बनाएर।
तरकारी फलफूल जे-जे सक्छौ फलाउछौ,
सीप हेरी मान्छे अनुसार रोजगार बनाएर।

८.
अतिक्रमणको दसगजा मैदान फर्किन्छन।
हराउदैन चन्द्र सुर्य स्वाभिमान फर्किन्छन।
रित्तो हुदैनन् घर,बाझै राख्नु पर्दैन खोरिया,
अब सिंगो देश बनाउन नौजवान फर्किन्छन।

९.
अन्याय र अत्याचार गर्न दिनु हुन्न ।
भेदभावको व्यबहार गर्न दिनु हुन्न।
संसार बदल्नु छ सुरु गरौ आफै बाट,
फोहोरी काम भ्रष्टाचार गर्न दिनु हुन्न।

१०.
हिजोको भाषण यतिकै टार्लान जुट युवा हो।
दिगो शान्ति सम्झौता बिगार्लान जुट युवा हो।
हिजो हामीलाई हतियार बनाइयो फेरि अब,
दाजु र भाइलाई युद्धमा पार्लान जुट युवा हो।

११.
देशको लागि केही गर्न तयार हुनुपर्छ ।
मातृभूमिको पाउमा पर्न तयार हुनुपर्छ।
आफू बन्ने तरखरमा भुमि बेच्दैछ्न उता,
सिमाना जोगाउन मार्न मर्न तयार हुनुपर्छ।

१२.
छाउनेछौ छानोहरू पाली खस्ने छैनन् ।
खेती गर्छौं जमीनहरू बाँझो बस्ने छैनन्।
 जब देशमा युवाहरू एकजुट भइ उठ्नेछ,
बैरीको आँखा लगाएर कसैले डस्ने छैनन्।

१३.
भोलि यहीं देशको नागरिक बन्न पाउन्न्की।
सयौं थुंगा एउटै फूल माला गन्न पाउन्नकी।
आजको साना नानीहरूमा यस्तै चिन्ता देख्छु,
हामी हौ नेपाली हाम्रो नेपाल भन्न पाउन्नकी।

१४.
सिमानामा झन झन् जलन सुरु भा छ।
कति सार्ने पिल्लर आकलन सुरु भा छ।
अब हामी चुप छुपमै बस्नु हुन्न नेपाली,
सदनमा राजीनामाको प्रचलन सुरु भा छ।

१५.
नेपालीले नेपालीलाई हेर्ने नजर फेरिनु हुन्न?
तिम्रो छुट्टै प्रदेश र मेरो छुट्टै नगर फेरुनु हुन्न?
खबरदारी गरौं एकताको देश टुक्राटुक्रा नहोस् ,
हाम्रो जिल्ला हाम्रो अञ्चल र घर फेरिनु हुन्न।

१६.
कसैको दुखमा कोहि अन्जान गर्न छाडौं अब।
एउटै आमा दाजुभाइ हानाहान गर्न छाडौं अब।
माथिल्लो तहमा जादैछौ जिम्मेवारी लिएर जाउ,
पछाडि बाट खुट्टा ताना तान गर्न छाडौ अब।

१७.
सिमानाभरी नौजवान खटाउन सक्छौं।
दुश्मनलाई एकै पटक चटाउन सक्छौं।
दोस्रो जलस्रोतको धनी देश हाम्रो नेपाल,
बिजुली बाली अध्यारो हटाउन सक्छौं ।

१८.
प्रत्येक हात हातमा कलम कापी दिनुपर्छ।
उसको भबिस्य उसैको माथी नापी दिनुपर्छ।
दुश्मनले पनि मर्ने बेला मातृभूमि सम्झियोस,
जननी र जन्मभूमि छातीमा छापी दिनुपर्छ।














Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....