जिन्दगीको धागो/कविता -नवीन प्यासि

[जिन्दगीको धागो ]


एक पित्को मुस्कानको लागि
एक टुक्रा चन्द्रमा 
र एक अञ्जुली आँसु मिल्काएँ कतै,
एक गाँस खुसिको लागि
एक माना कालो बादल 
र एक धोक्रो अँध्यारो मिल्काएँ कतै,
एक बित्ता सम्बन्धको लागि
एक डोको समय
र एक पोखरी पसिना मिल्काएँ कतै ।

मिल्काउँदा मिल्काउँदै आफै मिल्किएँ
र घिसारिएँ साँघुरो कच्ची सडकको चिहानमाथि

रगटिए पाखुरामा कोरेको प्रेमपत्र
र मेटिए ताराहरु जोडेर लेखेको प्रेमील अक्षरहरु,
फुटे पत्थरमाथी फूल रोप्ने दुबै आँखा
र छरपस्टिए स्मृतीका टुक्राटाक्रीहरु,
ठोक्किए आधा हाँसेका खाल्डाखुल्डीमा छाती
र घाइँते भए तेहाँ सवार मुटु ।

चुँडिए जूनकिरी हेर्न चुपचाप बसेको नदीको धैर्यताको डोरी,
थिचिए आकाश हेर्न मुन्टो उठाएका टुसाहरु आकाशबाट नै,
पुरिए पहाडको काखमा सुुनाखरीको बस्ती पहाडबाट नै ।

तैपनि घिस्रँदै घिस्रँदै 
पैतालाको सियोले भाग्य सिँउँदै जाँदा
धागो कतै चुँडिएपछि जिन्दगीको 
उध्रिइरहेछु म निरन्तर...निरन्तर...

कौतुहलको बुइँ चढेर हतारहतार हुँइकिँदा 

स्वाद बिर्सिएपछि जिब्रोले आमाको पटुकीको,
समात्न बिर्सिएपछि हातले आपाको नैतिक चोरी औँला ,
बोक्न बिर्सिएपछि खल्तीले 
घरको आँगनमा कोरेको सपनाको रेखाचित्र ।

अलमलको ऐसेलुको काँडामा अल्झिएर 
चुँडिएको रैछ जिन्दगीको धागो ।

कवि :-नवीन प्यासी


Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....