....कविता "नवीन संघर्ष "

[मुस्कुराउन नसकेको देश]


मैले कहिले भनिन,
मेरो देश सुन्दर छैन।
न त कसैको दबाबमानै भने,
मेरो देश सुन्दर छ।

म त-
लालिगुराँसै गुराँसको पाखा,
पहाडै पहाड सगरमाथाको चुचुरो,
देशकै मुहार देखिने ठुल-ठुला ताल,
सेतै फुल्ने हिमाली हिउँ,
निश्चल निलै बग्ने यो मेची,कोसी …कालीगण्डकी,
छंगछंगी झरिरहने यी पातले झरना छाँगा,
मावरको लेक,तराईको फाटमा,
-हुर्किदै,खेल्दै,लडिबुडी गर्दै,स्पर्श गर्दै,
भनिरहेछु मेरो देश सुन्दर छ।

तर..
जनयुद्ध पछि-

म हरेक दिन मेरी आमाको-
आँखामा आशु,
अनुहारमा मलिन निस्पठ अध्यारो देख्छु ।
म हरेक दिन मेरी भाउजुलाई-
सेतो साडी र
उजाडिएको सिउँदोमा देख्छु।
मेरो बुबा-
त्यो चोकमा एउटा् शालिक बनाएर..
केही बर्ष देखि निर्जीव पत्थरमा उभ्याइएको छ।
मेरी बहिनी –
बोल्न र बैसाखी बिना हिंड्न् सक्दिनन्,
जनआन्दोलन सुरु गर्दागर्दै हराएको,
मेरो दाजु अझै बेखबर छ।

हिजो पनि गरिएको,
र आज पनि गरिने प्रश्नहरु उस्तै छन्,

-कहिलेसम्म मेरा छोराछोरीहरुले,
मन परेको साथी संगै बसेर खान पाउदैनन्?
आफ्नो स्कुलको टिफिन,
-कहिलेसम्म मेरो परिवारले,
छिमेकीको परिवार संगै लाइनमा बसेर,
भर्न पाउदैन धाराको पानी?
-कहिलेसम्म कुसंस्कार कुबिचारले बाधेर राख्छौ,
चुल्हो बल्ने तिम्रो घरको संघार?
-कहिलेसम्म तौलन्छ यो समाज,
दाइजोको तराजुमा बिवाहा?
र जलाइदिन्छन् कयौं निर्दोष चेलीहरुको जिन्दगी।

-माक्र्सवाद लेलीनवाद छोडेर,
कुनचाहिँ वाद आयो भने,
बादी समुदायले बेच्नु पर्दैन आफ्नो शरीर?
दुई छाक खान,
-कहिले पूरा हुन्छन्
तुइनमा उल्टो झुन्डिएर सुल्टो देखिने सपनाहरु?

लेख्नेहरुले कहाँ कहाँ मात्र लेखेनन् र ?
-छुवाछूतको अन्त्य,
-वर्गीय भेदभावको अन्त्य,
-लैंगिक हिंसाको अन्त्य,
-रुढीबादी परम्परागत संस्कारको अन्त्य ,
-दाइजो प्रथाको अन्त्य,
……

लेख्नेहरुले कहाँ कहाँ मात्र लेखेनन् र ?
-सुख शान्तिको देश,
-जनक्रान्तिको देश,
-त्याग,प्राप्ति,परिवर्तनको देश,
-लोकतन्त्र/गणतन्त्रको देश,

तर मैले कहिले देखिन-
मेरो मझेरी बाट,
-एकताको हातेमालो,
– हाँसी रहेको हिमाल,
-नाचिरहेका डाफे,
-शान्तिको सेतो परेवा,
र मुस्कुराइ रहेको मेरो देश।

म खोजिरहेको छु,
हरबखत मेरो सुन्दर देश।

“सिन्धुली “

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....