कविता -कपिल अन्जान

बयान

इजलासमा
मलाई मेरै कविताहरूमाथि हात राखेर
कसम
खुवाइयोस् ।
श्रीमान्
चुप लाग्नु भनेको सहनु हुँदै होइन
यहाँ विना बहस
च्यातिदिएका छन्
मैले
राता अक्षरमा लेखेका
मेरा राता कविताहरू ।
यदि,
रातोको विषयमा नबोल्ने हो भने
किन रातो हुन्छ सूर्य ?
किन रातो हुन्छ रगत ?
किन रातै बनाइयो झण्डा ?
सम्झना छ
मेरो आङ ढाक्ने च्यात्तिएको भोटो र, मैले
देखेको मेरो बालक सपना त्यो पनि रातै
थियो ।
हिँड्ने बेलामा
बैनीले
मेरो निधारमा टाँसिदिएकी थिइन्–
रातो कनिका ।
मैले अझै बिर्सिएको छैन
मेरी आमाको सिउँदो पनि रातै थियो ।
श्रीमान्
किन राताहरू नै बढी खतरा हुन्छन् ?
–आगो
–फूल
–हस्ताक्षर
–सिन्दूर
–लाजपुर्जा
श्रीमान्
मेरो यो बयान
सेतोको समर्थनमा हुँदै होइन
यो रङ्गिन
इजलासमा बहस गरियोस्
किन सादा छ ?
मेरी आमाको अनुहार
सगरमाथाको रङ
यी मान्छेहरूको मन
र, मेरो देश ।

कपिल अन्जान
कोहलपुर


Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....