यतिबेला मसंग- बाँसुरी फुक्ने ओठहरु छैनन् !

यतिबेला मसंग-  बाँसुरी फुक्ने ओठहरु छैनन्  !
--------------------------------------------------------

आफैले बनाएको यौटा बाँसुरी थियो
र, सधैँ उत्साहित गीत गाउने-
--मजस्तै प्रेमिल देउराली थियो  !

चौतारीमा बसेर जब बजाउथेँ म बाँसुरी-
काखमा रित्तो गाग्री च्यापेर उनि आउथिन
र, यसरी हुने गर्थ्यो-  हरेक साँझपख हाम्रो भेट ।

उनले लुकाएर दिएको जालीरुमाल
मैले नलुकाई देखाई दिएँ- सबैभन्दा मिल्ने साथीलाई
बनको आगोजस्तै फैलिएर गयो गाँउमा-
कसैलाई नभन्नू भनेको खबर  !

त्यसदिन-
यति धेरै रिसाईन कि उनि मसंग
अझै संझन्छु-
एकैचोटी सयौ घामहरु उदाएझै
रापिलो पारेकी थिईन आँखा
तातो आइरनले खुम्च्याएको कपडाझै
कुरुप बनाएकी थिईन ओठ
र, हुरिले नुगाएका कलिला हाँगाहरुझै
एकदम छड्के थियो अनुहार  ।

अँ साँच्ची छुट्नेबेला-
सधैँका लागि भनेर गरेकी थिईन--   कट्टी !

देउराली त अझै होला
बुढो चौतारी छ कि छैन त्यो त थाहा छैन
सुनेको छु-
देउरालीको धारो पनि सुक्यो रे  !

यत्तिका बर्षपछि खै कसरी संझनामा आए म  ?
मलाई माफ गर सुनमाया  !
तर, यतिबेला मसंग-  बाँसुरी फुक्ने ओठहरु छैनन्

                      ◼◼◼

कवि :प्रकाश रम्घाली

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....