'हिँउको रङ "- निशान निष्कर्ष।
'हिँउको रङ "
घाम छिर्ने टोपी लगाएर
बिहानै कता हिँड्यो कुन्नि
उपल्लो गामको सोनामे शेर्पा ।
धेरै अगि गाममा
शहरबाट सरकार आउने हल्ला नचलेको हैन
र चलेकै हल्ला हो
सेतो पालले गाउँ सिँगारिने कुरा पनि ।
यतिबेला गुँरास फुलेको छैन गाउँमा
न त आएको छ ल्होसारको उल्लास ।
न भएको छ गुम्बामा बुद्धको स्तुति ।
कहाँ भ्याएका छन् र विचराहरुले यी सबै
काम गर्न र गराउन ।
आँखा आकाशमा कुदाउँदैमा जान्छ दिन
र सुत्ने बेलामा सम्झछन् छेपारोको उखानजस्तै
सरकारको आगमन ।
धेरै भएको छैन
सरकारले दुईटा चाउचाउ र एक मुठी
चिउरा बाँडेको,
त्यही खाएर भर्खर त उनीहरुले मनाएका
हुन् दशैँ र तिहार ।
सायद सरकारको खाजीमा
निस्केको हुनसक्छ सोनामे ?
सोनामेलाई आशा छ
यहाँ बाँसुरी बच्दैन निरोको रोममा जस्तै ।
हिजोबाट सरकारभन्दा छिटो भएको छ
हिमाल
बस्ती सिँगार्न ।
उपहार पठाएको छ उसले पनि
सेताम्मे हिँउका आँकुराहरु ।
हिमाल पठाउँदै गर्दा हिँउको उपहार
नबिर्सनू नि तिमीले सरकारले जस्तै
भर्खर भूकम्पले हामीसित लगाएको साइनो
र नबिर्सनू यहीँ पुरिएका नानीहरुको रोदनको
इतिहास ।
हामी हिमालकै कथाले विश्व थर्काइरहेछौँ ।
सरकार तिमी पनि पुग्यौ भने सोनामेको गाउँ
नझुक्किनू तिमीले बाँड्ने पाल र हिँउको रङमा ।
हिँउ पनि सेतै हुन्छ गाउँलेको मनजस्तै ।
- निशान निष्कर्ष पन्द्रुङ १, गोरखा
दामी छ कविता । यसभित्र वास्तविक कथा छ ।
ReplyDelete