कबिता - कलियुगकी कुन्ती- अनामिका सजल


कलियुगकी कुन्ती
************

तिमी त्यो युगकी कुन्ती होइनौ
जसको अवैध प्रेमको एउटा कहानी लेखियोस्
र युग युगले सम्झना गरिरहोस्
यहाँ त
बिस्तारा सम्मको यात्रा सँगै
प्रेमको आयु सकिन्छ र नजन्मिँदै सहिद हुन्छन्
कलि युगका कर्णहरु
कलिलो पाठेघर क्षतविक्षत बनाएर
हुर्काएको प्रेमको चिनो
सिस्नु र बाँसघारीका झाङमा लगेर
फ्याँक्न पनि हिम्मत चाहिन्छ
उ युगकी कुन्तीले त नदिमा बगाइदिनु पर्यो
छातिमा टाँसेर वात्सल्य पोख्न सकिनन्
तर म तिनको कायरतालाई थुक्छु
बरु यहाँका सडक सडकमा भेटिने
बौलाहीहरु बहादुर लाग्छन्
घर बिर्सिए, समाज चिनेनन्
देश छैन , अधिकार छैन
र पनि कत्ति मिठो मातृप्रेम  छ
उसको नाङ्गो छाति
कत्ति पनि अश्लील देखिन्न
किनकि
त्यहाँ वात्सल्यताको वस्त्र छ

अन्धकारको छायांमा उत्तेजनाको पानी पोखेर हिँड्ने
महापुरुषलाई आफ्नै अनुहारको खाते केटो देख्दा
आङ्ग सिरिङ्ग हुन्छ कि हुँदैन रु
विलासिताको घमण्डले,
मान्छे नभएरै मान्छे हुनुको घमण्डले
जात ,धर्म ,वर्ण र वर्गको घमण्डले
कहाँ पुर्याउँछ समाज
कहाँ पुर्याउँछ युग
एकले अर्कालाई हुत्याउँदा हुत्याउँदै
आफू पनि हुत्तिन के बेर
सांसारिकता जलेर एकैचोटि खरानी पनि भइहाल्दैन
फेरि टुटे फुटेका सम्बन्धहरु
नाता र निशानीहरु
उस्तै बनाउन ,दिगो र सिंगो बनाउन
अरु धेरै युग पर्खनुपर्छ
तिमी आँखा चिम्लेर हाम नफाल
मृत्युको पनि मापदण्ड हुन्छ
गहिराइ र उचाइ नाप्न भए पनि आँखा खोल
गोडा लतारेर हिँडेपछि ठेस लाग्नु स्वभाविक हो
जानेर लागेको ठेस कम दुख्छ

आफ्नी प्रेमिका अर्ध वस्त्र
चोक चोकमा बहुलाएर हिँडेको हेर्न सक्नु
आफ्नो प्रेमी निर्वस्त्र
गल्ली गल्ली भौँतारिएर बाँचेको हेर्न सक्नु
यो समयको, प्रेममा भरिएको विषको घडा हो
कोहि पिएर पनि बाँच्छन्
कोहि नपिए पनि जिउन सक्दैनन्
तिमी त्यो युगकी कुन्ती भएर
प्रेमपान नगर
सूर्यको किरणभन्दा छिटो झर्ने
पुरुषको वीर्य आफुमा लीन नगराऊ
त्यो प्रेम होइन वासना हो
स्खलित उत्तेजना सँगै
शिथिल हुने प्रेमले सन्तुष्टि दिने छैन र तिमी
पगली भएर
बहुलाही भएर
मठ मन्दिर ,देवालय, सत्तल ,पाटी ,पौवा
कुना काप्चा जताततै बलात्कृत हुने छौ
हर दिन ,हर रात
त्यहाँ न तिम्रो जात चाहिन्छ , न रुप न रंग न वर्ग
न चाहिन्छ तिमीलाई सन्तान जन्माउन वैधानिक लोग्ने
या वैधानिक कानुन
कसैले प्रश्न गर्ने छैनन् तिमीलाई
“तिम्रो बच्चाको बाउ कुन हो ?
तिम्रो बच्चाको जात कुन हो ?”
सोधे पनि के
तिमी कि हाँसिरहनेछौ, कि रोइरहनेछौ
कि ढुंगा टिपेर लखेट्ने छौ अलि परसम्म
फेरि उहि नियति , उहि प्रहार
उहि दुखाइ ,उहि कठोरता !!

म मान्दिन रामको आदर्श
बरु प्रेमको सच्चा भक्त हो रावण
प्रेमले कुमारी योनी खोज्दैन
यो भन्दा ठुलो उदाहरण कुन हुन्छ ?
यदि रावणको प्रेममा सीताको चरित्र हुन्न थियो भने
अपहरण ,अपहरण हुने थिएन
प्रेमको उत्सव हुने थियो
तिमी यो युगकी सीता
अग्नि कुण्डमा हाम फालेर
 आफ्नो सतित्व सावित गर्न सक्दिनौ
छातिको आकार नबढ्दै
ब्वाँसाहरुको सिकार भइसकेकी तिमीलाई
अग्निले पनि साथ दिने छैन
यौवनको आगो निभाउन
प्रेमको तेल नथप
तिमी आफैंमा एउटा शक्ति
आफैंमा एउटा संसार
खण्डहर बनाएर धरतीलाई श्राप नदेउ
धरतीले पनि किसिम किसिमका जीव जन्माएको छ
आकाशले पनि किसिम किसिमका पिण्ड बोकेको छ
तिमी धरती बन
आकाश बन
आमा बन
अनि नारी बन !!

अनामिका सजल
पाँचखाल ,काभ्रे

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....