भात कविता -राजु झल्लु प्रसाद ।
[भात]
यता एउटा भोको बालक,भोको पेट, भ माने भात पढिरहेछ !
उता अर्को बालक,
बर्गर लुछ्दै, ब माने बम पढिरहेछ !
र, यसरी
इश्वी सम्बतको गर्भबाट
एउटा रङ्गिन इतिहास जन्मिन्छ यहाँ !
अनि,
शताब्दीका भित्तेपात्रोहरु:-
युग पढाउन थाल्छन् !
भानुभक्त पढाउन थाल्छन् !
बुद्द पढाउन थाल्छन् !
गान्धि पढाउन थाल्छन् !
देश पढाउन थाल्छन् !
**
कोहि दोबाटोमा पुगेर पनि बाटो टुङ्गिन्छ, भनेर पढाउदैनन् !
कोइ गन्तव्यमै पुगेर पनि गन्तव्य भेटिदैन, भनेर पढाउदैनन् !
***
कसरी यो शहरले,
भर्खरै शहर छिरेकी फुलमाया दिदिको
चप्पलको फिता चुँडायो ?
कसरी यो शहरले,
भर्खरै शहर छिरेका श्याम दाइको
थाप्लोको नाम्लो जफत गर्यो ?
अहँ,
कोइ केइ पढाउदैन यहाँ !!
***
लाटोकोसेरोहरुको रातमा:-
यहाँ परेवाहरु बाज बन्छन् !
बुद्द हिटलर बन्छ !
र, केइ परबाट
चुपचाप....
चुपचाप.....,
गान्धी बस्
अध्यारोमा बसि यी सब तमसा चाटिरहन्छ !
***
मोतिराम बेश्यालय छिराइरहेछ भानुभक्तलाई, यतै कतै !
बुद्द हिटलरको पाइला उचाली गान्धिलाई कुल्चिरहेछ, यतै कतै !
र लेखिरहेछ,
सिग्रेटे धुवाँ ओक्लदै लक्ष्मि दारुलयमा बसेर,
युग बदल्ने एउटा युगान्तकारी कुकुर कविता !!
***
-भोलिबिहान चुँडिनु पर्ने त्रास बोकि,
आज गोधुलीमा
फुल्न मन नगरिरहेकी कोपिला !
-पहिरो पर्खिएर उघिं बसिरहेको पहाड !
-अदालतमा गिता छोएर, जबरजस्ती हत्याको बयान दिइरहेको बुद्द !
यी सब देख्दा यस्तो लाग्छ:-
मेरो देश स्वयं बृद्दाआश्रम खोज्दैछ,
बाकी जीवन हासीहासी बाच्नको लागि !
***
हेहे मान्यवर !
हजुर त स्वाभिमानी मान्छे !
स्वाभावैले अभिमानी मान्छे !
सुनेको,
हजुर देशको भविष्य जान्नु हुन्छ रे !
एउटा बिन्ती मेरो पनि छ, मान्यवर !
कृपया बिन्ती गर्छु, सुनिदिनुहोला !
ती बालकहरुको
भाग्य लेखिएको चिनापत्रमा
भात लेखिएको छ कि छैन, हेरिदिनुस न !!
कवि: राजु झल्लु प्रसाद
"धादिङ "
Comments
Post a Comment