यतिबेला मसंग- बाँसुरी फुक्ने ओठहरु छैनन् !
यतिबेला मसंग- बाँसुरी फुक्ने ओठहरु छैनन् ! -------------------------------------------------------- आफैले बनाएको यौटा बाँसुरी थियो र, सधैँ उत्साहित गीत गाउने- --मजस्तै प्रेमिल देउराली थियो ! चौतारीमा बसेर जब बजाउथेँ म बाँसुरी- काखमा रित्तो गाग्री च्यापेर उनि आउथिन र, यसरी हुने गर्थ्यो- हरेक साँझपख हाम्रो भेट । उनले लुकाएर दिएको जालीरुमाल मैले नलुकाई देखाई दिएँ- सबैभन्दा मिल्ने साथीलाई बनको आगोजस्तै फैलिएर गयो गाँउमा- कसैलाई नभन्नू भनेको खबर ! त्यसदिन- यति धेरै रिसाईन कि उनि मसंग अझै संझन्छु- एकैचोटी सयौ घामहरु उदाएझै रापिलो पारेकी थिईन आँखा तातो आइरनले खुम्च्याएको कपडाझै कुरुप बनाएकी थिईन ओठ र, हुरिले नुगाएका कलिला हाँगाहरुझै एकदम छड्के थियो अनुहार । अँ साँच्ची छुट्नेबेला- सधैँका लागि भनेर गरेकी थिईन-- कट्टी ! देउराली त अझै होला बुढो चौतारी छ कि छैन त्यो त थाहा छैन सुनेको छु- देउरालीको धारो पनि सुक्यो रे ! यत्तिका बर्षपछि खै कसरी संझनामा आए म ? मलाई माफ गर सुनमाया ! तर, यतिबेला मसंग- बाँसुरी फुक्ने ओठहरु छैनन् ◼◼◼